निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, सांसद प्रभु साहद्वारा विधेयक च्यातेर बैठक बहिस्कार

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, सांसद प्रभु साहद्वारा विधेयक च्यातेर बैठक बहिस्कार

काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । विधेयकलाई आइतबार बसेको बैठकले बहुमतले पारित गरेको हो । 

यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसद प्रभु साहले रोष्ट्रमबाटै विधेयक च्यात्नु भएको थियो । विधेयकमाथिको छलफलमा क्रममा बोल्न रोष्ट्रममा पुग्नु भएका सांसद साहले गरिबमारा भएको भन्दै विधेयक च्यात्नुभएको हो । 

संविधानमा समानताको कुरा गरे पनि विधेयकले गरिबलाई अगाडि बढ्नबाट रोक्ने र रुवाउने विधेयक भएको सांसद साहको आरोप थियो । आम जनता पार्टीका अध्यक्षसमेत रहनुभएका सांसद साह विधेयक च्यातेपछि बैठकबाट बाहिरिनुभएको थियो । 

यसैगरी, बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गर्दै बहिष्कार गरेका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै वेल घेराउसहित विरोध गरे । 

बैठकमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालले आफ्नो कम्पनी सुमिरे टुर्स एण्ड ट्राभलले मानव तस्करी नगरेको भन्दै बचाउ गरेपछि बैठकमा एकछिन विवाद भएको थियो। 

शनिबार बसेको प्रतिनिधिससभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा मान्छे पठाउने सुमिरे ट्राभल्स कसको भनेर प्रश्न गर्नुभएको थियो । 

खतिवडालाई जवाफ दिँदै उपसभापति अर्यालले उक्त कम्पनी आफ्नो भएको र त्यसरी भिजिट भिसाका नाममा मान्छे नगएको भन्दै प्रमाण पेस गर्न चुनौती दिनुभयो । उहाँले भिजिट भिसा प्रकरणमा विषयान्तर गर्न यस्तो आरोप लगाइएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विपक्षी दललाई लक्षित गर्दै संसद्को आकस्मिक समयको दुरूपयोग गरिएको टिप्पणी गर्नुभयो । सरकारले विपक्षीको मागमा समिति बनाइसकेकाले जथाभावी अभिव्यक्ति दिएको भन्दै उहाँले बोल्न नै बञ्चित गर्न माग गर्नुभयो ।

त्यसैगरी संसदमा सांसदहरूले किसानले मल नपाएको र सडक निर्माण अलपत्र परेको लगायतका विषयमा सम्बन्धित मन्त्रीहरूको जवाफ माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.