काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरूकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको बताउनुभएको छ ।
सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गर्नुभएको हो । कृषिमन्त्री अधिकारीले ग्रामिण तहमा सामुदायिक क्याम्पस नभएको भए लोकतन्त्रमाथि प्रश्न चिन्ह खडा हुने बताउनु भयो ।
सामुदायिक क्याम्पसहरूकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्ने उहाँकाे भनाइ छ। उहाँले युवाहरू विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्युनीकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गर्नुभयो । उहाँले युवाहरूलाई स्वदेशमै बस्ने परिस्थिति बनाउन सरकारले काम गरिरहेको बताउनु भयो ।
मन्त्री अधिकारीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसको भरमा मात्रै रहेको भए गणतन्त्र सुरक्षित हुन नसक्ने जिकिर गर्नुभयो ।