काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुन:स्थापनाको आन्दोलनको जारी रहेको बताउनुभएको छ ।
राजा महेन्द्रवीरविक्रम शाहदेवको १०५औँ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने बताउनु भयो ।
उहाँले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गर्नुभयो । अध्यक्ष थापाले केही कमी, कमजोरीहरू रहेपनि त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पुर्याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने जिकिर गर्नुभयो ।
जनआन्दोलन समितिमा रहेका दल र समूहहरू एकताबद्ध रहेको बताउँदै उक्त एकतालाई कसैले चाहेर पनि टुटाउन नसक्ने दाबी उहाँले गर्नुभयो । उहाँले परिवर्तन चाहने राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।