माओवादीसँग अमूर्त सहमति गरेर कांग्रेस-एमालेले खोले प्रतिनिधि सभा बैठक, रास्वपाकाे अडान यथावत्

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागमा रास्वपा अडिग
लेखकको जवाफ- म निर्दोष छु
जेष्ठ ३०, २०८२
माओवादीसँग अमूर्त सहमति गरेर कांग्रेस-एमालेले खोले प्रतिनिधि सभा बैठक, रास्वपाकाे अडान यथावत्

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रबीच सहमति भएपछि नाराबाजीकै बीच प्रतिनिधि सभा बैठक सञ्चालन गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागबाट पछि हट्दै माओवादी केन्द्रले आज सत्तापक्षसँग दुई बुँदे अमुर्त सहमति गरेपछि रास्वपा र राप्रपाको विरोधकै बीच सदन चलाइएको हो ।

सत्ता पक्ष र माओवादी केन्द्रबीच सहमति भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको अडान छाडेको छैन् । 

जेठ १३ गतेदेखि छानबिन समिति माग गरेका विपक्षीहरू आज प्रतिनिधि सभा बैठकमा भने विभाजित देखिए । माओवादी केन्द्रको समर्थनमा बैठक सञ्चालन भैरहँदा रास्वपाका सांसदहरूले भने रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

दुई साताभन्दा लामो प्रतिनिधि सभाको अवरोध संसद् खुलाउन भएको सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको दुई बुँदे सहमतिमा अख्तियारले गरेको छानबिनलाई सहयोग र अध्यागमन समस्या समाधानका लागि काम गर्ने उल्लेख छ। 

छानबिनका लागि कुनै मुर्त संयन्त्र र समयसीमा भने उल्लेख छैन् । बरू विपक्षीले समित बन्छ भनिरहँदा सत्ता पक्षले कुनै समिति नबन्ने प्रष्ट पारेको छ । सदनमा विरोध र मागमा अडिग राष्ट्रिय स्वतन्त्र पार्टीले भने छानबिनको ठोस वातावरण नबन्दासम्म विरोध जारी राख्ने बताएको छ ।

जेठ १३ गतेदेखि प्रतिनिधि सभा अवरुद्द हुँदा बजेटमाथिको छलफल र विधेयकहरू अघि बढन् पाएका छैनन् । प्रमुख प्रतिपक्ष माओवादीले सदनमा यति लामो अवरोधको औचित्य सावित नगरी राजनीतिक रूपमा कांग्रेसलाई नचिढ्याउने रणनीतिमै सदन खोल्न तयार भएको हो । 

विपक्षीलाई दुई कित्तामा विभाजित गर्न सफल सत्ता पक्षले बेथितिको विषयलाई अनुसन्धानमा लैजानुभन्दा विपक्षीलाई अलमल्याएर गलाउन सफल भएको देखिन्छ । प्रतिनिधि सभाको अर्को बैठक आइतबारका लागि बोलाइएको छ ।