काठमाडौं । अध्ययनका नाममा बिदा लिने तर सेवामा नफर्किने प्रवृत्ति बढेपछि त्रिभुवन विश्वविद्यालय प्राध्यापक खोजबिन समितिले अध्ययन बिदा लिई सेवामा नफर्केका ४ सय प्राध्यापकलाई कारबाही गर्न सिफारिस गरेको छ ।
उपप्राध्यापक जीवन काफ्लेको संयोजकत्वमा गठित खोजबिन समितिले अध्ययन बिदा लिई विदेश गएर नफर्किएका १ सय ८७ जना र उत्तीर्णको प्रमाणपत्र पेश नगरेका २ सय १३ जनालाई कारबाही गर्न सिफारिस गरेको प्रतिवेदन शुक्रबार उपकुलपतिसहित पदाधिकारीलाई बुझाइएको हो ।
अध्ययन बिदामा बसेका ४ सय जना प्राध्यापकले बिदाको दुरूपयोग गरेको भन्दै उनीहरूबाट ५ वर्षको तलब भत्तासहितको डेढ अर्ब रुपैयाँभन्दा बढी असुल उपर गर्न सिफारिस गरेको समितिका सदस्य सचिव दीपक तिवारीले जानकारी दिनुभएको छ ।
निश्चित समयको अध्ययन बिदा सकिएपछि पनि नफर्किएमा त्यस्ता प्राध्यापकबाट उनीहरूले खाईपाई आएको तलब भत्तासहित थप १० प्रतिशत ब्याज फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।
अध्ययन बिदा लिई नफर्केका प्राध्यापकको खोजबिन गर्न गठित समितिले साढे ४ महिना लगाएर प्रतिवेदन तयार गरी उपकुलतिसमक्ष बुझाएको सदस्य सचिव तिवारी बताउनुभयो ।