काठमाडौं । अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयमा निर्वाचन कमिटीले बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका सार्वजनिक गरेको छ । राम लक्ष्मण इनोभेसनका ४५ वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर मतदान हुनेछ । जसमा १५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
२४औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिनु भएको छ।
यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिनुभएको छ । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलको उम्मेदवारी परेको छ।
अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ। महाधिवेशन यही जेठ २५ देखि सुरू भएको हो।