काठमाडौं । २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारे जानकारी गराएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाकाअनुसार २०८१ पुषदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ ।
यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, यूएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोलीसमेत खटाई राहदानीको सेवा प्रदान गरिएको उहाँको भनाइ छ ।
परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धि समस्या समाधानका उपाय प्रस्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिनुभयो । वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेस गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको उहाँले बताउनु भयो ।
मन्त्री राणाले बढ्दो कार्यचाप, बदलिँदो भूराजनीति र कुटनीतिक परिवेशकाबीच परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई मन्त्रालयमा सार्वजनिक कुटनीति, आर्थिक कुटनीति, श्रम आप्रवासनलगायतका नयाँ महाशाखाहरू सिर्जना गरिएको जानकारी दिनुभयो ।