काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरूबीच चर्काचर्की भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणको विषय प्रवेश गराएपछि सांसदहरूबीच नोकझोक भएको हो ।
सांसद पराजुलीले सुरूमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गर्दा समेत श्रम र गृह मन्त्रालय किन उपस्थित नभएको ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सत्तापक्षका सांसदहरूले विदेशमा नेपाली श्रमिकको पीडा पोख्ने तर संसद्मा छानबिन गरौँ भन्दा उल्टै विरोध गर्ने प्रवृत्ति देखाएको भन्दै आक्रोश पोख्नुभयो ।
राज्यको लाचारीपन र दलालसँग मिलोमतो गरेर नेपाली नागरिकलाई बेच्ने जिम्मेवारी के राज्यले लिएको हो ? पराजुलीले प्रश्न गर्नुभयो । भिजिट भिसा प्रकरणको नाममा भइरहेको मानव तस्करीको विषयमा छानबिन गर्ने कुरा संसद्मा नउठेको भन्दै उहाँले नेपाली नागरिकको सुरक्षाको जिम्मा के राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै हो ? भन्दै प्रश्न गर्नुभयो ।
संसदीय समितिमा मानवतस्करीविरूद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको उहाँको आरोप थियो । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा सम्बन्धित निकायले छानबिन गरिरहेको उल्लेख गर्दै समिति आवश्यक नरहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले सांसद पराजुली विषय-वस्तुभन्दा बाहिर गएको भन्दै रूलिङको समेत माग गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार नभएको टिप्पणी गर्नुभयो ।
विवाद बढेपछि सभापति अब्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव समेत राख्नुभयो ।
सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग माग राख्नुभयो ।