लगातार अवरूद्ध भइरहेको संसद्को गतिरोध हटाउन शीर्ष नेताको बेवास्ता, संसद्लाई प्राणहीन नबनाउन सभामुखको आग्रह

बैठक फेरि भोलिसम्मका लागि स्थगित
जेष्ठ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
 लगातार अवरूद्ध भइरहेको संसद्को गतिरोध हटाउन शीर्ष नेताको बेवास्ता, संसद्लाई प्राणहीन नबनाउन सभामुखको आग्रह

काठमाडौं । दिनभर जसो छलफल र संवाद गर्ने तर प्रतिनिधि सभा सञ्चालनको प्रगति शून्य हुन थालेको दुई साता नाघिसकेको छ । तर निरन्तर अवरूद्ध प्रतिनिधि सभा खुलाउन प्रमुख दलका शीर्ष नेताले गम्भीरताका साथ छलफल गरेकै छैनन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामादेखि छानबिन समिति बनाउनुपर्ने अडान राखेर विपक्षी दलले प्रतिनिधि सभा अवरूद्ध गरिरहँदा प्रमुख दलका शीर्ष नेताहरू भने गतिरोध अन्त्यका लागि घनिभूत छलफल गरेकै छैनन् । 

संसद्प्रति जवाफदेही र बजेटदेखि विधेयकसम्मका विषय अड्किएकोमा चिन्ता भएको भए सत्तारूढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर छलफल र संवाद हुनुपर्ने हो । 

रास्वपाका नेताहरूले पनि गतिरोध अन्त्यका लागि बहुपक्षीय छलफल गर्न सक्थे । तर सत्ता पक्षले माग सुन्नै नचाहने अनि विपक्षीले अडान नछाड्ने गर्नाले प्रतिनिधि सभामा जनसरोकारका विषय रोकिएको रोकियै छन् ।

प्रधानमन्त्री ओली आज दिनभर भेटघाट र आन्तरिक काम कारवाहीमै केन्द्रित हुनुभयो । कांग्रेस सभापति देउवाको पनि विशेष र सार्वजनिक व्यस्तताको कुनै कार्यक्रम थिएन आज । सदनको अवरोधमा सत्ता पक्षलाई मनाउन छलफल गर्नुपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने मुस्ताङमा पार्टीको कार्यक्रममा व्यस्त रहनुभयो ।

आज बिहान कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई फोन गरेर दाहाल दिउँसो मुस्ताङ हिड्नुभएको थियो । हिजोअस्ति पनि शीर्ष नेताहरूले सदनको गाँठो फुकाउने गरी संवाद गर्नै नभ्याउने अवस्था थिएन । तर दोश्रो तहका नेताहरु तथा सभामुखको पहलकै भर परेर प्रमुख नेताहरु बाहिरै बस्दा उनीहरूले संसदकै उपेक्षा गरेको देखिँदैछ । 

राजनीतिक तहमै समाधान खोजिनुपर्ने र सभामुखको पहल प्रयाप्त नहुने भैसकेपछि प्रतिनिधि सभाको गतिरोध तोड्न प्रमुख दलका प्रमुख नेताहरूकै अग्रसरता अनिवार्य देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.