काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गर्नुभएको हो ।
बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गर्नुभएको हो । भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।
उहाँले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानबिनमा प्रतिबद्ध हुनुपर्ने बताउनु भयो । भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए-नभएको बुझ्न र प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् ।
१३ जेठदेखिको संसद् बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिएपनि दुई साता बढी हुँदा बजेटमाथिको छलफल सुरू हुन सकेको छैन ।