काठमाडौं । प्रतिनिधि सभाको अवरोध खुलाउने बारेमा सभामुख, कानुनमन्त्री र राजनीतिक दलका प्रमुख सचेतकहरुको बैठक पनि निष्कर्षविहीन भएको छ ।
संसद् भवन बानेश्वरमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षबिना टुंगिएको हो । दलहरूले आफ्ना अडान कायमै राखेकाले सभामुखले बोलाएको बैठक विनानिष्कर्ष टुंगिएको हो । सभामुखसँगको छलफल निष्कर्षविहीन भएपछि कांग्रेस, एमाले, माओवादी, रास्वपालगायतका दलहरू छुट्टै छलफल गरिरहेका छन् ।
सभामुख घिमिरेले आजको बैठक पहिलेभन्दा झन निराशाजनक रहेको बताउनुभएको छ ।
सभामुखले बोलाएको बैठक कुनै टुंगोमा नपुगेपछि कांग्रेसका महामन्त्री गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरे, गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलगायत छलफलमा जुटेका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
रास्वपाले जेठ २६ मा पाँच बुँदे प्रस्ताव कांग्रेससमक्ष राखेको थियो । उक्त प्रस्तावबारे आज संसद् भवनमा विपक्षी दलहरूबीच छलफल भएको थियो । सत्तारूढ दलहरू एमाले र कांग्रेसले भने गृहमन्त्रीको राजीनामा पनि नआउने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन् ।