संविधान र विधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउँछ: महर

जेष्ठ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधान र विधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउँछ: महर

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठाउनुभएको छ।

नेपाल प्रेस युनियन, कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रु र पार्टीभित्र पदाधिकारी बैठकका नाममा भइरहेका निर्णय प्रक्रियामाथि एकसाथ प्रहार गर्नुभयो।

 'संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सिमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ,' उहाँले भन्नुभयो, 'यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ। यो गलत छ र यसलाई रोक्नुपर्छ।'

महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसंगमा उहाँले भन्नुभयो, 'पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शीर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको छ।'

उहाँले पार्टीभित्र अवसरको न्यायोचित वितरण नभएको भन्दै चिन्ता प्रकट गर्दै 'पार्टीमा योगदान गरेका, क्षमता भएका र विचार बोकेका हजारौं कार्यकर्ता अवसरबाट वञ्चित छन्,' महरले भन्नुभयो, 'नेपाली कांग्रेस लाखौं कार्यकर्ताको साँझा घर हो। यहाँ अवसरको न्याय स्थापित नगरी पार्टी बलियो बन्दैन। हामीलाई अब नैतिक आचरण र वैचारिक बल भएको पार्टी चाहिएको छ।'

नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उहाँले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्नेमा जोड दिनुभयो। 

संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएकोतर्फ संकेत गर्दै उहाँले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्नुभयो।

दशर चन्द मेडिकल विश्वविद्यालयलाई आवश्यक नीति ,कानुन निर्माण गरेर यथाशक्य छिटो सु-सञ्चालन गर्नु पर्नेमा महरको जोड थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.