प्रतिनिधिसभाको बैठक आज दिउँसोका लागि तय

दलहरुबीच सहमतिका नभएका कारण आजको बैठकबारे पनि अन्यौल कायमै
जेष्ठ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको बैठक आज दिउँसोका लागि तय

काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुको विरोधका कारण लगातार प्रभावित प्रतिनिधिसभाको बैठक आज दिउँसोका लागि तय भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

दलहरुबीच सहमतिका लागि भएका पटकपटकका प्रयास असफल हुँदा आजको बैठक सञ्चालन हुने नहुनेबारे अन्यौल कायमै छ । सहमतिका लागि दलहरुबीच पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्किएकाले यही जेठ १३ गतेदेखि नै प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । त्यसैले बजेटमाथिको छलफल सुरु नै हुन सकेको छैन ।

आजको बैठक सञ्चालन भए उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.