मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नोबारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताउनु भएको छ ।
विराटनगरमा आयोजित नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटनमा डा. कोइरालाले भन्नुभयो, 'मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ।'
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दासमेत कांग्रेसले यसबारे आधिकारिक रुपमा कहीँ कतै नबोलेकोमा आपत्ति जनाउनु भयो ।
कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, 'के बाध्यता आइपर्यो त्यस्तो, प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?' पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएको नेता कोइरालाले आरोप लगाउनु भयो ।