काठमाडौं । पुँजीगत खर्च र लक्ष्यअनुसार राजस्व उठ्न नसकेका बेला सरकारले लिएको ऋणको सावा तथा ब्याजको भुक्तानीमा भने उच्च मात्रामा खर्च गरेको छ । यस वर्षका लागि ३ खर्ब ६७ अर्ब साँवा तथा ब्याजको भुक्तानी लागि रकम छुट्टाएकोमा अहिलेसम्म ७२ दशमलव पाँच–दुई प्रतिशत खर्च भएको हो ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ । पछिल्लो समय बढ्दै गएको सावा तथा ब्याजको बोझका कारण यसपालि पनि विकास बजेट भने ठूलो मात्रामा बढाउन सक्ने देखिँदैन । सोमबारसम्ममा सरकारले सावा तथा ब्याजका लागि छुट्टाएको रकम ३ खर्ब ६७ अर्ब मध्ये २ खर्ब ६६ अर्ब खर्च गरिसकेको छ । तर विकास खर्च ३६ प्रतिशत मात्र भएको छ । विकास खर्च कम हुनुमा सरकारकै कमजोरी रहेको पूर्वअर्थमन्त्री वर्षमान बताउनुहुन्छ ।
सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब विकास बजेट छुट्टाएकोमा सोमबारसम्म १ खर्ब २९ अर्ब मात्र खर्च भएको छ । विकासका काम समयमै अघि बढाउन नसक्दा खर्च बढ्न नसकेको हो ।