गभर्नर नियुक्तिको विषयले कांग्रेस-एमालेका शीर्ष नेताबीचमै गहिरियो अविश्वास, मन्त्रिपरिषद् बैठकसमेत स्थगित

जेष्ठ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
गभर्नर नियुक्तिको विषयले कांग्रेस-एमालेका शीर्ष नेताबीचमै गहिरियो अविश्वास, मन्त्रिपरिषद् बैठकसमेत स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास बढ्दै गएको छ । गभर्नर नियुक्तिका लागि बस्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट हुनुभएको हो ।

देउवा प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार जानुभएन । गभर्नर नियुक्तिको प्रक्रियामा दुई महिनादेखि दुई दलबीच स्वार्थको द्वन्द्व चलिरहेको छ । गत चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपनि अहिलेसम्म एक-पटक पनि बैठक बसेको छैन। समिति दुई पटक पुनर्गठन भएको छ ।

एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो । 

तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाउनुभएको थियो। तर कांग्रेस सभापति देउवाले रिसाउँदै गभर्नरका विषयमा छलफल गर्न नजाने जवाफ दिएको बताइएको छ । 

दुई नेताको असमझदारीबीच गृहमन्त्री रमेश लेखकले सोमबार अपराह्न सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेट्नुभएको थियो । उहाँले सोमबार नै सिफारिस समितिको बैठक राख्न र मन्त्रिपरिषद्बाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो । 

कांग्रेसले गभर्नरका लागि प्रस्ताव गरेका व्यक्ति विश्व पौडेल संसदीय निर्वाचनमा उम्मेदवारसमेत भएको प्रसंग उठाउँदै प्रधानमन्त्री ओलीले उहाँको योग्यतामाथि प्रश्न उठाउनुभएको थियो ।

दुई दलबीच बढेको अविश्वासबारे छलफल गर्न कांग्रेस र एमाले दुवै आन्तरिक छलफलमा केन्द्रित भएका छन । प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेस नेता गृहमन्त्री लेखक आन्तरिक छलफलका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काको निवास पुग्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले भने बालुवाटारमै निकट एमाले मन्त्री र नेताहरूसँग छलफल गरेको बताइएको छ । यसअघि पार्टीका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री ओलीले कांग्रेसमाथि गरेको व्यवहारका विषयमा अविश्वास राख्दासमेत देउवाले प्रधानमन्त्रीको बचाउ र सरकारको पक्षमा खुलेर वकालत गर्दै आउनुभएको थियो ।

कांग्रेसले गभर्नरका लागि सुरूमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टको नाम अघि सारेको थियो। भट्टले वैशाख ५ मा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गर्नुभएको छैन । 

त्यसपछि देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलको नाम दिनुभएको थियो । पौडेलका विषयमा समेत ओलीले विमति राख्न थालेपछि देउवा संशकित हुनुभएको कांग्रेस स्रोतले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.