काठमाडौं । संवैधानिक आयोगहरूमा गरिएको ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला जेठ २८ गते हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने मिति तोकेको हो ।
रिट निवेदकतर्फको अन्तिम जवाफी बहस सकिएपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमाल चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको फैसला जेठ २८ गते फैसला सुनाउने मिति तोकेको हो । इजलासले जेठ १६ गतेभित्र बहस नोट पेश गर्न पनि दुवै पक्षलाई आदेश दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत गरिएका नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १५ वटा रिट परेका थिए । संवैधानिक इजलासले चार वर्षदेखि विचाराधीन यो मुद्दामा गत वर्ष माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्दै आएको थियो ।