काठमाडौं । सांसदहरुले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिएका छन् ।
संसदमा जारी बजेटका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री जनार्दन शर्माले राजमार्गहरुको स्तरोन्नति गर्दै सडक पूर्वाधारमा लगानी गर्न सुझाउनुभयो । सरकारको कोषमा रहेको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उहाँको भनाइ छ ।
यस्तै, राजस्वसमेत कम उठ्ने गरेको स्थितिमा आर्थिक पुनःसंरचना गर्नुपर्ने, राजनीतिक तथा प्रशासनिक खर्च घटाउनुपर्ने र संरचनागत सुधारमा कडाइ गर्नुपर्ने पूर्वअर्थमन्त्री शर्माको सुझाव छ ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिद्धान्त तथा प्राथमिकताले बजेट कार्यान्वयनका लागि स्रोतको पहिचान गर्न नसकेको बताउनु भयो । निर्वाचन क्षेत्रमा रहेका सडकमा बजेट विनियोजन नभए बजेट च्यात्नेसमेत उहाँले चेतावनी दिनुभयो ।
सत्तारुढ दल नेकपा एमालेका सांसद पदम गिरीले बजेटका प्राथमिकता स्पष्ट रहेको बताउनु भयो । पहिलो पटक लोकरिझ्याइँभन्दा पनि यथार्थपरक कार्यक्रम आएको उहाँको दाबी छ ।
सांसदहरुले सार्वजनिक ऋणको सदुपयोग हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई विश्वासमा लिनसमेत सुझाएका छन् । यसअघि शून्य र विशेष समयमा बोल्दै सांसदहरुले निर्माणधीन सडक, पुल र अन्य पूर्वाधार छिटो सक्न र योग्य व्यक्तिलाई छिटो गभर्नर नियुक्त गर्न आग्रह गरेका थिए ।