काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गैर आवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले गैर आवासीय नेपाली संगठनलाई विधिसम्मत रूपमा चल्न पनि आग्रह गर्नुभयो । अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर गर्नुभयो । उहाँले गैर आवासीय नेपाली संगठनलाई राजनीतिक दलहरुका जनवर्गीय संगठन बन्नबाट बचाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विधिसम्मत ढंगले तपाईंहरू चल्नुस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्नेकुरा यो त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन । राम्रा निष्कर्ष निस्किउन् । यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस् । यस संस्थालाई पोल्टिकल पार्टीका जनवर्गीय संगठन बन्नबाट बचाउनका लागि, यस संस्थालाई अरू कसैको बेनिफिटका लागि प्रयोग हुनेकुराबाट जोगाएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरू सफल हुनुस् । त्यसका लागि युनिटीमा जोड दिने हो, विधिमा जोड दिने हो । विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ । नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’
प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली संगठनलाई कसैको स्वार्थका लागि प्रयोग हुनबाट बचाएर देशको हितमा काम गर्ने बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गैर आवासीय नेपाली संगठनले विधिसम्मत गरेका काममा सरकारको सधैँ साथ रहने बताउनु भयो ।