नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोरमारामा सोमबार राति ओभरलोड सवारीको कारण भासिएको गिरुबारी खोलाको पुल बर्खाअगाडि नै मर्मत गरिने भएको छ । सडक विभागले स्थलगत अनुगमन गरेर पुल मर्मतका लागि १५ दिन लाग्ने भएकाले तत्कालै काम सुरु गरेर बर्खाअघि नै यातायात सञ्चालनको तयारी गरेको हो ।
चोरमारामा भित्री सडकबाट यातायात सञ्चालन भए पनि बर्खा सुरु भएपछि खोलाको सतह बढेर त्यो पनि बन्द हुने भएपछि मर्मतको काम तत्काल अगाडि बढाउन लागिएको हो ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-७, चोरमारास्थित गिरुबारी खोलाको पुल सोमबार राति भासिएको थियो । पुल भासिएको ठाउँमा डाइभर्सन बनाउन प्राविधिकरूपले नमिलेपछि चोरमारबाट उत्तर र दक्षिणका भित्री सडकबाट आवागमन खुला गरिएको छ ।
बुटवलतर्फ जाने सवारीलाई चोरमारा बजारबाट १ किलोमिटर उत्तरतर्फबाट पार गराइन्छ भने नारायणगढतर्फ आउने सवारीलाई चोरमारा बजारबाट दक्षिणतर्फ रानीटार हुँदै करिब ५ किलोमिटर भित्री सडक पार गरेर राजमार्गमा आउनुपर्ने बाध्यता छ ।