खोरेत रोग बाधक बन्दा चीन निर्यात हुन सकेन भैंसीको मासु

वैशाख ३०, २०८२ |सुमन पन्थ
खोरेत रोग बाधक बन्दा चीन निर्यात हुन सकेन भैंसीको मासु

काठमाडौं । चीनमा भैंसी तथा राँगाको मासु निर्यात गर्ने सरकार पहल खोरेत रोगका कारण लम्बिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंसीरको चीन भ्रमणका क्रममा दुई देशबीच मासु निर्यातसम्बन्धी सहमति भएको थियो । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खोरेत उन्मूलन गरेको एक वर्षभित्र निर्यात सुरु हुने बताएको छ ।

नेपाल र चीनबीच मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ लगानीकर्ताले मासु प्रशोधनसम्बन्धी पूर्वाधारमा लगानी गर्न सुरु गरिसकेका छन् । पशु सेवा विभागका अनुसार चिनियाँ लगानीकर्ताले काभ्रे, मकवानपुर र सिन्धुलीमा शीतघर तथा बधशाला निर्माण थालेका छन् । तर मासु निर्यात सुरु हुन भने अझै लामो समय लाग्ने देखिएको छ । 

सरकारले खोरेत रोग उन्मूलनको घोषणा नगरुन्जेल यस्तो सम्भावना छैन । कृषि मन्त्रालयका अनुसार इलामका १० वटा पालिका र मकवानपुर र सिन्धुलीका ४ वटा पालिका खोरेत रोगमुक्त घोषणा भएका छन् । अब समग्र देशलाई नै खोरेतमुक्त गराउने तयारी सुरु भएको मन्त्रालयको भनाइ छ ।

पशु प्राविधिकहरूका अनुसार पशुमा लाग्ने खोरेत रोग निकै संक्रामक हो । हावाबाट सर्ने यो रोग विश्वभर नै मासु व्यापारमा अवरोधका रूपमा लिने गरिएको छ । विज्ञ तथा व्यवसायीहरूले देशबाट रोग उन्मूलनमा समय लाग्ने हुँदा राँगा भैंसी उत्पादन हुने पकेट क्षेत्रमा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेर चिनियाँ बजारमा मासु निर्यात गर्न सुझाएका छन् ।

नेपालमा वार्षिक ३ खर्बभन्दा बढीको कृषिजन्य वस्तुको आयात भइरहेको छ । तर पशुपालनतर्फ मासु र दुग्धजन्य वस्तुको निर्यात ५ अर्ब पनि पुग्न सकिरहेको छैन । नेपालमा भैंसी पालनको राम्रो सम्भावना रहेको हुँदा चिनियाँ बजार नेपालका लागि ठूलो अवसर रहेकाले त्यसको लाभ लिन कृषि अर्थशास्त्रीहरूले जोड दिएका छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।