एमाले धनुषाको अधिवेशनस्थलमै दुई समूहबीच कुटाकुट

नामावलीको विषयमा विवाद
मतदान प्रक्रिया स्थगित
वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले धनुषाको अधिवेशनस्थलमै दुई समूहबीच कुटाकुट

धनुषा । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनस्थलमै दुई समूहबीच विवाद चर्किएपछि कुटाकुट र तोडफोड भएको छ । तनावपछि मतदान प्रक्रिया रोकिएको छ ।

अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा दुई समूह कुटाकुटमा उत्रिएका हुन् । अधिवेशनस्थलमा कुर्सी पनि तोडफोड गरिएको छ । आज बिहान ८ बजेदेखि नै मतदानको कार्यतालिका प्रकाशन गरिए पनि विवाद र कुटाकुटले मतदान अनिश्चित भएको छ ।

गत वैशाख २० देखि नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशन जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिपनारायण ठाकुर दिपन र धिरेन्द्रकुमार मण्डलको उम्मेदवारी परेको छ । 

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुकाकुमारी मिश्र र सारदा घिसिङ उम्मेदवार बनेका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेका लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम नामावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन । 

भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.