काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरू औचित्य नरहेको जिकिर गर्नुभयो ।
उहाँले नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भए पनि समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको बताउनुभयो । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत भएको बताउनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, “नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट सुरु भएर राजा, महाराजाको पालादेखि सुरु भएर त्यसलाई कमरेडहरूले पनि धान्या हो । नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन । यसले के गर्नु, बुक बाँड्ने, टीकाटिप्पणी बाहेक के हुनेवाला छ ? औचित्य के छ ? यो कुरा बजेटले केही सपोर्ट गर्ला, केही नगर्ला । कर्मकाण्डमै भए पनि सरकारले ल्याएको छ । सरकारले आफ्ना नीति राख्ने हो । नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएको छ । तर समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ छ । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् ।”
अध्यक्ष यादवले समाजवाद उन्मुख भएको भए उपभोक्ता वर्ग, गरिव, किसान, मजदूर, सर्वहारा, मधेशी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित, महिला, विपन्न वर्गलाई केन्द्रमा राखेर नीति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।