शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता जारी

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता भइरहेको छ । दुवै पक्षबीच हिजो अबेर भएको वार्ता सकारात्मक भएकाले आज सहमति गरिने जनाइएको छ ।

आन्दोलनरत शिक्षकका मागलाई सम्बोधन गर्ने समझदारीसहित आज अन्तिम वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिनुभएको छ । सरकारले शिक्षा ऐन जारी गर्ने कार्यतालिकासहितको प्रतिबद्धता जनाउने र शिक्षकहरुले आन्दोलन स्थगित गर्ने समझदारी हुन लागेको हो ।

हिजोको वार्तामा यही २१ वैशाखदेखि सुरू हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा शिक्षकहरु लचक देखिएका छन् । हिजो राति अबेरसम्म चलेको वार्तामा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको थियो । 

सरकारसँग वार्ता चलिरहँदा शिक्षकहरुले आज २९औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । हिजो बसेको महासंघको बैठकले आन्दोलनसँगै वार्तालाई समेत अघि बढाउने निर्णय गरेको थियो ।

यसैबीच, आवासीय चिकित्सकले आज पनि आन्दोलन जारी राखेका छन् । सरकारसँग हिजो भएको वार्ता निष्कर्षविहीन भएपछि चिकित्सकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् । चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकलाई निर्वाह भत्ताको निर्णय कार्यान्वयन गर्ने निर्णय गरे पनि चिकित्सकको तहका बारेमा विवाद भएपछि सहमति हुन सकेको थिएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.