काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले नेपालमा मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको माउ कम्पनी) दर्ता हुनैपर्ने बताउनुभएको छ ।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहले पछिल्लो समय मेटा नेपाली जनताको सञ्चार, उद्यम र अभिव्यक्तिको आधार बनेको कारण नेपालमा दर्ता गराउनु अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले मेटा मात्र नभई सबै विदेशी कम्पनीहरूले नेपालको कानुन पालना गर्नुपर्ने र कानुनमा भएका उल्झन समाधान नगरी मेटालाई निरन्तर चेतावनी मात्र दिनु समेत लाजमर्दो विषय भएको बताउनुभयो । उहाँले मेटा अन्य देशमा दर्ता हुँदा नेपालमा किन तर्किरहेको छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाल फेसबुक बन्द हुने कि नहुने भन्ने चर्चा अलि व्यापक छ । तर मुख्य कुरा प्रस्ट छ मेटा नेपालमा दर्ता हुनैपर्छ । आज फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल नेपाली जनताको सञ्चार, उद्यम र अभिव्यक्तिको आधार बनेको छ । त्यसैले मेटालाई नेपालमा दर्ता गराउनुपर्छ । विदेशी कम्पनीहरूले नेपालको कानुनलाई पालना गर्नुपर्छ भन्नेमा दुई मत छैन । तर हाम्रो कानुनमा रहेका उल्झनहरू समाधान नगरी चेतावनी मात्र दिने हो भने त्यो लाजमर्दो हुन्छ । मेटाले अन्य देशमा दर्ता हुँदा नेपालमा किन तर्किरहेको छ ? यसको गहिरो छानबिन होस् । मेटासँगको वार्ता केवल कम्पनीसँगको वार्ता होइन । यो त नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय समूदायलाई दिने एउटा सन्देश हो ।”