काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटमा पार्टीको कुन सहमहामन्त्री छोरो संलग्न रहेको हो त्यो प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई चुनौती दिनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले लिङदेनलाई घटना प्रमाणित गर्न चुनौती दिँदै आफ्नो अभिव्यक्ति फिर्ता गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले भाटभटेनीबाट रक्सीको बोतल बोकेर हिँड्नुभएको हो ? प्रमाणित गर्नको लागि म आग्रह गर्दछु । होइन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ । र क्षमायाचना गर्नुपर्छ ।”
उहाँले कसैले पनि व्यक्तिगत वा सामूहिक रूपमा पार्टीलाई समेत लाञ्छित गरेर बोल्न नपाइने उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।