काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश अहिले ट्रयाकमा रहेको बताउनुभएको छ ।
मंगलबार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २००७, २०४६, ०६२–०६३ को बलिदानलाई स्मरण गरेर लोकतान्त्रिक गणतन्त्र र समावेशी संघीयतालाई बचाएर लैजानुपर्ने बताउनु भयो ।
उहाँले गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास भएको र ती मानिस मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग रहेको उल्लेख गर्नुभयो ।
उहाँले सडक पिच भएको, बिजुली देशको ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको र सञ्चार क्षेत्र पनि अघि बढिसकेको बताउनुभयो । उहाँले अहिलेको कमजोरी शिक्षा र स्वास्थ्यमा रहेको भन्दै सामुदायिक विद्यालय र सामुदायिक अस्पतालको स्तरोन्नति गर्न जरुरी रहेको बताउनुभयो ।
कृषि बचाउन चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको पूर्वराष्ट्रपति यादवको भनाइ छ । उहाँले चुरे र तराईको जंगल मास्न दिन नहुने समेत जिकिर गर्नुभयो ।