काठमाडौं । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक-प्रगतिशील गठबन्धनको प्यानलले फराकिलो अग्रता बनाएको छ । हालसम्मको मतगणना अनुसार कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक-प्रगतिशील गठबन्धनले सबै पदमा फराकिलो अग्रता कायम गरेको हो ।
लोकतान्त्रिक-प्रगतिशील गठबन्धनतर्फबाट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ४ हजार २७२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायीको प्यानल व्यावसायिक कानुन व्यवसायी गठबन्धनका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले १ हजार ८४३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै महासचिव पदमा पनि लोकतान्त्रिक प्रगतिशील गठबन्धनका केदार कोइरालाले ४ हजार ६० मत प्राप्त गर्दा व्यावसायिक कानुन व्यवसायीको गठबन्धनका यज्ञमणि न्यौपानेले १ हजार ७०५ मत प्राप्त गर्नुभएको छ ।
सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । देशभर योग्य मतदाता ९ हजार ९९७ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९९५ मत खसेको थियो । बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जनाबीच प्रतिस्पर्धा छ ।