तीनकुने घटनाका दोषीलाई फौजदारी कसुर अनुसार कारबाही हुन्छ : गृहमन्त्री लेखक

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
तीनकुने घटनाका दोषीलाई फौजदारी कसुर अनुसार कारबाही हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको सरकारले निष्पक्ष छानबिन गर्ने बताउनुभएको छ । उहाँले दोषीमाथि फौजदारी कसुरअनुसार नै कारबाही अगाडि बढ्ने जानकारी दिनु भयो । 

प्रतिनिधिसभा अन्तर्गत कानुन समितिको आज बसेको बैठकमा उपस्थित हुनु भएका गृहमन्त्री लेखकले हिंसात्मक घटनाको छानबिन सरकारले गरिरहेको जानकारी गराउनु भएको हो । 

उहाँले घटनामा संलग्न सबैमाथि कारबाही हुने पनि बताउनुभयो । मन्त्री लेखकले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गरिसकिएको समेत  समितिलाई जानकारी दिनुभयो । प्रहरीले प्रसाईंलाई आजै पक्राउ गरी झापाबाट काठमाडौं ल्याइसकेको छ ।

बैठकमा सांसदहरुले तीनकुनेमा भएको हिंसात्मक घटनामा जिम्मेवार देखिएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजालाई समितिमै बोलाएर सोधपुछ गरिनुपर्ने माग गर्नुभयो । अन्य नागरिकलाई जति अधिकार छ शाहलाई पनि त्यति मात्रै अधिकार भएको भन्दै सांसद परियारले समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने माग गर्नुभएको हो । घटनामा संलग्न भनिएकाहरुसँग प्रहरीले बोलाएर सोधपुछ गरिरहेकाले पूर्वराजालाई चाहिँ किन नगर्ने भन्दै उहाँले प्रश्न गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.