दाङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो गतिमा काम गर्न नसक्दा नागरिकमा असन्तुष्टि पैदा भएको र उक्त असन्तुष्टि सडकमा पोखिएको बताउनुभएको छ । आइतबार दाङको तुलसीपुरमा आयोजित नेपाल थारू संघ क्षेत्र नम्बर ३ को प्रथम अधिवेशन तथा सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले संविधानका पानामा लेखिएको अधिकार नागरिकले प्राप्त गर्न नसक्दा असन्तुष्टि बढेको बताउनुभएको हो ।
संविधानको कार्यान्वयनका सवालमा सरकार र त्यसका नेतृत्वकर्ताको अदूरदर्शिता कारण समस्या थपिएको उहाँको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको शासन व्यवस्थालाई यहाँसम्म ल्याउन धेरै दशक बिताएको भन्दै अबको दशकमा समृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । अहिलेको यो दशकमा पनि जनतामा रहेको निराशा हटाउने, विदेशिने युवालाई देशभित्रै सम्भावनाका आयाम तय गर्न सक्ने र विदेशिएका युवालाई स्वदेश फर्काउने दशक बनाउने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै एक अर्को प्रसंगमा महामन्त्री थापाले नेपालको राजासंस्थामा राजसंस्थाको चरित्र नभएका कारण कसैले चाहेर पनि संवैधानिक बनाउन नसक्ने बताउनुभयो । अहिलेको व्यवस्था खराब नभएर केही प्रवृत्ति मात्रै खराब भएको र त्यसको सुधार गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल थारू संघ नेपाली कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संस्था रहेको बताउँदै महामन्त्री थापाले थारू संघका मागलाई सम्बोधन गरी राजनीतिक रूपमा सगंठित बनाउने प्रतिबद्धता व्यक्त गनुभयो । थारू समुदायले चाहे अनुरूप राजनीतिक न्याय अझै नपाएको भन्दै महामन्त्री थापाले थारूका नाममा खोलिएका पार्टीले थारू समुदायको मुद्दा हल गर्न नसक्ने पनि बताउनुभयो ।