काठमाडौं । राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका आयात हुने वस्तुमा भारी कर लगाउने घोषणा गरेपछि विश्व शेयर बजार अस्तव्यस्त भएको छ । ट्रम्पको घोषणको असर एसियाली शेयर बजारमा पनि देखापरेको छ ।
एसियाली शेयर बजारमा आज भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । चीनको सांघाई कम्पोजिटमा एउटा बिन्दुमा ८ प्रतिशतसम्मको गिरावट आएको बीबीसीले उल्लेख गरेको छ । यसैगरी हङकङको हाङसेनमा करिब १३ प्रतिशतको गिरावट आएको छ । हङकङ शेयर बजारमा एचएसबीसी बैंकको शेयरमा १५ प्रतिशतभन्दा बढी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरमा १८ प्रतिशतसम्म गिरावट आएको छ ।
भारतीय इक्विटी बजार १० महिनायताकै तल्लो स्थानमा खस्केको र लगानीकर्ताले केही सेकेन्डभित्रैमा २० लाख करोड भारतीय रुपैयाँ गुमाएको भारतीय समाचारमाध्यमले जनाएका छन् । ट्रम्पको आक्रामक नीतिबाट भयभित लगानीकर्ताले व्यापक मात्रामा सस्तोमा शेयर बिक्री गरेको समाचारमा जनाइएको छ । बीबीसीका एसिया बिजनेश संवाददाता मारिको ओइले एसियाली स्टक मार्केटको समाचार सम्प्रेषण गर्ने आफ्नो करिअरको २० वर्षमा आफूले देखेका सस्तोमा शेयर बिक्रीका ठूला घटनामध्ये यो एक भएको टिप्पणी गरेका छन् । यस्तै जापानी शेयर मार्केट निकेमा ६.३ प्रतिशतको गिरावट आएको छ ।
युरोपेली शेयर बजारमा पनि ट्रम्पको घोषणाको असर देखिएको छ । बजार खुलेको केही समयमै जर्मनीको ड्याक्स इन्डेक्समा करिब १० प्रतिशत गिरावट आएको र यस्तै लन्डनको एफटीएसई हन्ड्रेडमा करिब ६ प्रतिशतको गिरावट आएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिका आयात हुने वस्तुमा कम्तीमा १० देखि ५० प्रतिशतसम्मको वैश्विक कर लगाउने घोषणा गर्नुभएको थियो ।
उता ट्रम्पले भने केही ठीक पार्न कहिलेकाहीँ औषधि सेवन गर्नुपर्छ भन्दै आफ्नो नीतिको बचाउ गर्नुभएको छ । ट्रम्पले लिएका नीतिको विरोधमा हिजो मात्रै अमेरिका विभिन्न शहरमा विरोध प्रदर्शन भएको थियो ।