बिमस्टेक शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

चैत्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बिमस्टेक शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीले थाइ एयरलाइन्सको विमानबाट आज दिउँसो काठमाडौं फर्कनुभएको हो । 

उहाँले भ्रमण उपलब्धिपूर्ण भएको बताउनुभएको छ । बैंककमा रहँदा उहाँले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनलाई सम्वोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले बिमस्टेकको समृद्ध, लचिलो र खुल्ला भविष्यमार्फत् समग्र क्षेत्रको सामाजिक, आर्थिक र पर्यावरणीय विकासमा सहकार्य गर्न जोड दिनुभएको थियो ।

क्षेत्रीय समृद्धिका लागि मानव संशाधनमा लगानी र व्यापारमा सुधारको आवश्यकतालगायत क्षेत्रीय जलवायु परिवर्तन, विपद् तयारी र आपतकालीन स्वास्थ्य सेवालगायतका मुद्दामा समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्न पनि आह्वान गर्नुभएको थियो ।

बैंककमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको आपसीहितको विषयलाई छलफल गर्नुभएको थियो । झण्डै ४० मिनेटभन्दा बढी भएको दुई नेताबीचको भेटबार्तापछि दुवै प्रधानमन्त्रीहरूले सामाजिक संजालमार्फत् छलफल महत्वपूर्ण भएको बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.