काठमाडौं । संसदीय समितिले चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सिंहदरबारमा आज बसेको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका आगजनी, तोडफोड र लुटपाटका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको हो ।
समितिले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न पनि सरकारलाई निर्देशन दिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले जनाउनु भयो ।
सभापति थापाले सुरक्षा सावधानीसहित सम्भावित घटना तत्काल नियन्त्रण गर्ने गरी तयारी अवस्थामा रहनसमेत सरकारलाई निर्देशन दिनुभयो ।