१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै बस्न सकेन

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै बस्न सकेन

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुको हो-हल्लापछि १५ मिनेटका लागि भन्दै स्थगित गरिएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन । बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले छलफल गरिरहनुभएको छ ।

निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी १ बजे सुरु भएको बैठकमा सांसदहरुबीच हो-हल्ला भएको थियो । सत्ता र प्रतिपक्षी दलका सांसदहरुले बोल्न पाउनुपर्ने माग गर्दै हो-हल्ला गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

विपक्षी दलहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै संसद्‍मा अवरोध गर्दै आएका छन् ।

यसअघि संसद् बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा सत्तापक्षले संसद् नियमित सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीले भोलिको बैठकमा जवाफ दिने जानकारीसमेत गराएका थिए । तर विपक्षी दलहरुले अडान कायमै राखेका थिए ।

सभामुख घिमिरेले बैठक नियमित सञ्चालन गर्ने वातावरण बनाउन छलफल गरिरहनुभएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच संसद् सञ्चालन लगायत समसामयिक विषयमा टेलिफोन संवाद भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.