काठमाडौं । सरकारले संसद्मा पेश गरेको एक महिनापछि ५ वटा अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएका छन् ।
गत माघ १८ गते संसद्को पहिलो बैठकमा पेश भएका ६ वटा अध्यादेशमध्ये आजको प्रतिनिधि सभाबाट ५ वटा अध्यादेश बहुमतले स्वीकृत भएका हुन् । आज सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि, निजीकरण, लगानी अभिवृद्धि र सहकारी सम्बन्धी स्वीकृत भएका हुन् । जनता समाजवादी पार्टी नेपालले सहयोग नगरेपछि भूमि सम्बन्धी अध्यादेश भने पेश गरिएन ।
पारित अध्यादेश राष्ट्रिय सभामा भोलि निर्णयार्थ प्रस्तुत हुने तालिका छ । दुवै सदनबाट स्वीकृत भएमा सरकारले प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्नेछ । अध्यादेशको अस्वीकार प्रस्तावमाथिको छलफलमा विपक्षी दलका सांसदहरूले संसदीय प्रक्रिया मिचेर ल्याइएको अध्यादेशले सुशासन कायम हुन नसक्ने जिकिर गरे ।
यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिएको सम्बन्धमा जवाफ दिन सम्बन्धित मन्त्रीहरूलाई रुलिङ गर्नुभयो ।
विपक्षी सांसदहरूले घिसिङलाई प्राधिकरणबाट निष्कासन गर्ने बहाना सरकारले खोजिरहेको भन्दै आपत्ति जनाए । उनीहरुले घिसिङलाई हटाइए सडक र सदनबाट आवाज उठाउने चेतावनी समेत दिए ।