काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आठ वटा प्रश्नहरू गर्नुभयो । आइतबार संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अध्यक्ष साहले सोधेका प्रश्नहरूको प्रधानमन्त्री ओलीले उत्तर भने दिनुभएन ।
प्रधानमन्त्री ओलीले साहका प्रश्नहरूलाई जवाफ दिन आवश्यक नरहेको भन्दै पन्छिनुभयो । उहाँले साहका प्रश्न अपमानजक भएको, भाषा उपयुक्त नभएको पनि बताउनुभयो ।
“संसद् जस्तो गरिमामय ठाउँमा यस्तो भाषा, तपाईंलाई के लाभ भयो ? ‘विदेश युवा पठाएर’ जस्ता भाषा, म मेनपावर कम्पनीको मान्छे हो ? म सरकारमा आएपछि आठ महिनाबाट सुरू भएको हो ? तपाईंले भनेका ७० लाख आठ महिनामा गएका हुन् ?”, प्रधानमन्त्री ओलीको जवाफ थियो ।
प्रधानमन्त्रीले सांसद साहले गरेका प्रश्नहरूमा खासै उत्तर दिइरहनु नपर्ने, साह आफैंसँग उत्तर भएको भन्दै धन्यवाद सहित कुरा टुंग्याउनुभयो ।
प्रधानमन्त्रीलाई साहले गर्नुभएको प्रश्न यस्ता छन् :
१. नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ ? उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अवैध सम्पत्तिहरूलाई राज्यको स्वामित्वमा ल्याउन तपाईंले के के गर्नुभयो ? खुलेआम हुण्डीबाट ती अवैध सम्पत्तिहरू विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने सक्षम कि असक्षम ? प्रधानमन्त्रीज्यू ती अवैध सम्पत्तिलाई अब स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ ?
२. झन्डै ७० लाखभन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम समझौता अनुसार प्रत्येक वर्ष झन्डै ४० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउनुपर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३-१४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ, हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुण्डी मार्फत खुलेआम कालो धनसँग मिलान भैराख्दा तपाईं किन मौन बस्नुभयो ? नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साट्नलाई विदेशमा मरिरहेका छन् ? हैन भने संख्याको अनुपातमा ती रेमिट्यान्स किन नेपाल आएन ?
३. वैदेशिक रोजगारमा जाने नेपाली मजदूरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएको छैन । किन ट्रेड युनियनको हक नपाउने गरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २९ औं शताब्दीमा नेपाली मजदूरलाई दासताको नरकीय जीवनमा धकेल्दा तपाईंहरूले के कति लाभ पाउनुभएको हो ?
४. नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झन्डै एकतिहाइ राजस्व उठाउने गरेको छ । ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झन्डै १४ खर्बभन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झन्डै २ खर्ब र स्थानीय सरकारले पनि झन्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको देखिन्छ, जो जीडीपीको ३० प्रतिशत हुन आउँछ । यसलाई कर आतंक नभन्ने त के भन्ने प्रधानमन्त्रीज्यू ? के यस्तै कर प्रणालीले हाम्रो अर्थतन्त्र सुधार हुन्छ ? हुँदैन भने, यो कर आतंकलाई रोक्ने योजना के छ ?
५. तपाईंले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जाँदैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ?
६. यो सरकार दुईतिहाइ बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैंले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत समेत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुँदैन ? सत्ता-सहयात्रामा रहेका दलले नै अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेपछि अब तपाईं कुन नैतिकताले पदमा बस्नुहुन्छ ?
७. संघीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन् । तर प्रधानमन्त्रीजीले चारैतिर विकासको चकाचौंध मात्र देख्नुहुन्छ । यदि त्यसो हो भने, ती राजमार्गहरूमा तपाईं आफैं किन यात्रा गर्नुहुन्न ? त्यहाँ लगातार भइरहेको घटना दुर्घटनाको जिम्मा कसले लिने ?
८. आवासविहीनहरूलाई घर बनाउन ‘सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिब दलितहरूसँग मजाक गर्नुभयो ? प्रधानमन्त्रीजी यसको जवाफ दिनुस् ? धन्यवाद !