काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाउनुभएको हो ।
साना र प्रतिष्पर्धी दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संसद्को नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको समेत उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन ।”