बर्डफ्लुले हाँस-कुखुरा र अफ्रिकन स्वाइन फिबरले सुँगुर-बंगुर मर्न थाले

फाल्गुन ९, २०८१ |सुमन पन्थ
बर्डफ्लुले हाँस-कुखुरा र अफ्रिकन स्वाइन फिबरले सुँगुर-बंगुर मर्न थाले

काठमाडौं । नेपालमा डेढ वर्षपछि पुनः बर्ड्फ्लु देखिएको छ । सुनसरीको, कोशी गाउँपालिका कुम्याहीमा पालिएका हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएपछि किसान चिन्तित बनेका छन् । त्यस्तै संगुर र बंगुरमा देखिने अफ्रिकन स्वाइन फिभरले पनि महामारीकै रुप लिएको छ । विज्ञहरुले यी रोग चाँडो फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाएका छन् ।

सुनसरीको कोशी गाउँपालिका कुम्याहीमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि किसान आत्तिएका छन् । पीडित किसान मोहम्बद मुस्ताक मियाले स्थानीय प्रशासनले गत बुधबार बर्डफ्लु देखिएका हाँस तथा कुखुरा नष्ट गरेको जनाउनु भयो । यस्तै, प्रशासनले चार किल्ला तोकेर पक्षीको ओसारपसार बन्द गरिएको छ ।

स्थानीय प्रशासनले तथा संघीय सरकारले नियन्त्रणका सबै उपाय अपनाएको दाबी गरे पनि बर्डफ्लु अन्य क्षेत्रमा फैलिने जोखिम बढेको छ । यता, गण्डकी र बागमती प्रदेशका जिल्लामा देखिएको अफ्रिकन स्वाइन फिभरले पछिल्लो १ महिनामै साना किसानले पालेका १ सय ३७ भन्दा धेरै सुँगुर बंगुर मरेका छन् । बुधबार र बिहीबारमात्र तनहुँको भिमाद नगरपालिकामा १८ वटा वयस्क बंगुर मरेको रिसिङ, तनहुँकी किसान भीममाया आलेले जनाउनु भयो ।

सुँगुर र बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभरको अहिलेसम्म विश्वमै खोप विकास हुन सकेको छैन । पशु सेवा विभागले नेपालमा देखिएको यो रोगलाई महामारी भनेको छ । किसानले पालेका हाँस-कुखुरा बर्डफ्लुले र सुँगुर-बंगुर अफ्रिकन स्वाइन फिबरले धमाधम मरिरहे पनि पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल भने दुवै रोग नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको दाबी गर्नुहुन्छ ।

पक्षीमा देखिने बर्डफ्लु र सुँगुर-बंगुरमा देखिने अफ्रिकन स्वाइन फिभर उच्च संक्रामक रहेको हुँदा क्वारेन्टाइनमा विशेष ख्याल गर्न र जैविक सुरक्षा अपनाउन किसानहरुलाई विज्ञ डा. शर्मिला चापागाईंले सुझाव दिनु भएको छ ।

बर्डफ्लुबाट पक्षीको क्षति भएका किसानलाई सरकारले ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने गरेको छ । तर, अफ्रिकन स्वाइन फिभरमा राहत दिने गरेको छैन । दुई वर्षदेखि फैलिएको अफ्रिकन स्वाइन फिबरका कारण हजारौं कृषक विस्थापित हुँदा पनि सरकारले पुनःस्थापनाको प्याकेज ल्याउन सकेको छैन । संक्रामक रोगमा पशुधन बिमा नहुँदा थप समस्या भएको हो । राज्यबाट राहतसमेत नपाउँदा साना तथा सिमान्तकृत कृषक मारमा परेका छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement