काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले काठमाडौं उपत्यकाको धोबीघाट, बालकुमारी, सल्लाघारी, हनुमानघाट, गोकर्णमा फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य भइरहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले उक्त आयोजना अन्तर्गत गुहेश्वरीमा ३ करोड २४ लाख लिटर प्रतिदिन क्षमताको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा रहेको बताउनुभयो । उहाँले मध्यपुर थिमि नगरपालिकाको मगरगाउँदेखि मनोहरा खोलाको दुवै किनारको पेप्सीकोला पुलसम्म र जडिबुटी पुलदेखि हनुमन्ते दोभान हुँदै बालकुमारी फोहोर पानी प्रशोधन केन्द्रसम्म इन्टरसेप्टर ढल निर्माण गर्ने कार्य भइरहेको बताउनुभयो ।
उहाँले बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, मानवीय क्रियाकलाप तथा अन्तरदेशीय प्रदूषित वायुको प्रवाह वायु प्रदूषणको मुख्य कारण रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “उपत्यकाको वायु प्रदूषण कम गर्ने योजनाका सम्बन्धमा प्रस्ट पार्न चाहन्छु । बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, मानवीय क्रियाकलाप तथा अन्तरदेशीय प्रदूषित वायुको प्रवाह वायु प्रदूषणको मुख्य कारण रहेको छ । सरकारले उद्योग तथा आयोजनाहरूको वातावरणीय पक्षको नियमित अनुगमन निरीक्षण तथा सवारी साधन प्रदूषण छड्के अनुगमन र कारबाही हुने व्यवस्था मिलाएको छ ।”
प्रधानमन्त्री ओलीले नवीकरणीय ऊर्जा प्रवर्द्धन, विद्युतीय सवारी साधनको प्रयोगमा प्राथमिकता जस्ता कार्यक्रमहरूबाट सफा ऊर्जाको खपत बढ्ने हुँदा वायु प्रदूषण कम हुने अपेक्षा गरिएको बताउनुभयो । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर खानेपानी वितरण भइरहेको पनि उहाँले बताउनुभयो ।