अखिल क्रान्तिकारीको पदाधिकारीमा जनार्दन शर्मा निकट विद्यार्थीहरूको बहुमत

माघ १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
अखिल क्रान्तिकारीको पदाधिकारीमा जनार्दन शर्मा निकट विद्यार्थीहरूको बहुमत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा पार्टी उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थीहरूको पदाधिकारीमा बहुमत उपस्थिति रहने भएको छ । 

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत भएको निर्वाचनमा पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना सकिएको छ । ३३ पदाधिकारीमध्ये शर्मा निकटका २० विद्यार्थी नेता निर्वाचित हुँदा अध्यक्षमा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट विजयप्रकाश सापकोटा निर्वाचित हुनुभएको छ ।

सापकोटाले ६८६ मत ल्याउदा निकटतम प्रतिस्पर्धामा हेमन्त राईले ६१५ मत ल्याउनुभयो । राई पार्टी उपमहासचिव शर्मा निकट पक्षधरका उम्मेदवार हुनुहुन्थ्यो । महासचिवमा पनि शर्मा निकटका उम्मेदवार रोशन थापा मगर निर्वाचित हुनुभयो । त्यस्तै ९ उपाध्यक्षमध्ये ५ मा शर्मा निकट विद्यार्थी निर्वाचित भए । ९ उपमहासचिवमध्ये ७ र ११ सचिव मध्ये ६ मा पनि शर्मा निकट विद्यार्थी निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा पनि शर्मा निकट विद्यार्थी नेता नै विजयी भएका थिए । विद्यार्थी नेता भरत महतराले केन्द्रीय सदस्यमा पनि शर्मा निकट विद्यार्थी नै हाबी रहेको जानकारी दिनुभयो । 

उहाँले केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम आइसकेको भए पनि कसको उम्मेदवार निर्वाचित भएको भनेर छुट्याउने काम भइरहेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement