मधेसवादी दलहरूले गरे एकता र सहकार्यका लागि कार्यदल गठन

माघ १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेसवादी दलहरूले गरे एकता र सहकार्यका लागि कार्यदल गठन

काठमाडौं । मधेसवादी राजनीतिक दलहरूले एकता र सहकार्यको लागि कार्यदल गठन गरेका छन् ।

मधेसवादी आठ राजनीतिक दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरद सिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेस लोकतान्त्रिक पार्टीबाट श्रीबज्र किशोर सिंह रहनुभएको छ । उहाँले कार्यदलका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको बताउनु भयो । उहाँले अगामि दिनमा संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउनका लागि सहकार्य गर्न कार्यदल गठन गरिएको बताउनु भयो ।

त्यस्तै बैठकले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णय समेत गरेको उहाँले बताउनु भयो । उहाँले सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर मधेसी, जनजाती र आदिवासी समुदायदायलाई विस्थापित गर्न खोजेको आरोप समेत लगाउनु भयो । उहाँले वर्तमान सरकारले एकतन्त्रीय प्रणाली अप्नाएको उल्लेख गर्दै त्यसप्रति मधेसवादी दलहरु सकारात्मक हुन नसक्ने बताउनु भयो ।

बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, तमलोपा सहभागि थिए । मधेसवादी दलहरुले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकतावद्ध हुन र मधेसका मुद्दाहरु एक आवाजमा उठाउन भन्दै एकताको प्रयास थालेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement