माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दोस्रो तहका नेताहरूको चुनौती

माघ १७, २०८१ |विकास आचार्य
माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दोस्रो तहका नेताहरूको चुनौती

काठमाडौं । तीन दशकदेखि पार्टीमा एकछत्र नेतृत्वमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पछिल्लो समय पार्टीका दोस्रो तहका नेताहरूले चुनौती दिन थालेका छन् । यसैसाता सम्पन्न पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उपमहासचिव जनार्दन पक्ष हावी भएको छ । पछिल्लो समय अध्यक्ष दाहालविरुद्ध फरक मत राख्न थालेका नेताहरुले अखिल क्रान्तिकारीको निर्वाचनमार्फत् स्पष्ट रुपमा टक्कर दिएका छन् । आफू कमजोर बन्दै बन्न थालेपछि दाहालले समेत गुटको नेतृत्व गर्न थालेको आरोप लाग्न थालेको छ ।

नेकपा माओवादी केन्द्र भित्र मुल नेतृत्वको अघिपछि गर्दै राजनीतिक गर्नेहरुलाई काका समुह भन्न थालिएको छ । तर, यो काका समुह विस्थापन हुनुपर्ने नारालाई माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनले सार्थक बनाएको छ । यसैसाता सम्पन्न निर्वाचन विद्यार्थी नेताहरुका लागिभन्दा पार्टीका शीर्ष नेताहरुलाई प्रतिष्ठाको लडाइँ बन्यो । यसअघि नेतैपिच्छे प्यानल खडा गरेर माओवादी केन्द्र र उसका भ्रातृ संगठनहरुले आन्तरिक निर्वाचन गरेका थिएनन् । तर अखिल क्रान्तिकारीको यो निर्वाचनमा नेताहरुले गुटको अभ्यास गरेको स्पष्ट देखियो। शक्ति बस्नेतलाई अघि सारेर अध्यक्ष दाहालले गुटको नेतृत्व गर्नु भएको थियो । सोही गुटबाट अध्यक्षमा विजयप्रकास सापकोटा निर्वाचित पनि हुनु भयो । तर, पदाधिकारीमा भने उपमहासचिव जनार्दन शर्मा पक्ष हाबी भयो । ३३ पदाधिकारीमध्ये महासचिव, कोषाध्यक्षसहित शर्मा निकटका २० जना निर्वाचित भए । यसले पनि देखाउँछ, दाहालको विकल्पमा शीर्ष नेताहरु पार्टीमा पकड बनाउन सक्रिय भएर लागेका छन् ।

विगतमा सुसुप्त रुपमा गुट निर्माणमा सक्रिय वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले पनि अखिल क्रान्तिकारीको निर्वाचनमा आ-आफ्ना उम्मेदवार उठाएर गुटगत अभ्यास गरे । साथमा उनीहरुले आफू नेतृत्वमा आउन चाहेकोपनि संकेत गरे । जनार्दन शर्मा र वर्षमान पुनले यसअघि पार्टी महासचिव बन्ने चाहना राखे पनि दाहालले देव गुरुङलाई अघि बढाउनुभएको थियो । त्यसयता शर्माले खुलेरै एक गुटको नेतृत्व गरिरहँदा पुनले पनि अर्को महाधिवेशनको तयारीस्वरुप र शर्मालाई चुनौती दिन अर्को गुट विस्तार गरेको देखिन्छ । देव गुरुङ र उपाध्यक्ष पम्फा भूसाल पनि गुटको अभ्यासमा रहे पनि उहाँहरु भने त्यति खुल्नु भएको छैन ।

‘हामीलेनै विद्यार्थीलाई चुनाव लड्न भनेका हौं, यसले गुट जन्मायो भन्न मिल्दैन,’ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भूसालले भन्नुभयो ।

पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरुले पछिल्लो समय दाहालको निरन्तर नेतृत्वको महत्वाकांक्षा, राजनीतिक एजेण्डा तथा अस्थिर चरित्रलगायत विषयमा प्रश्न उठाउन थालेका छन् । तर दाहाल भने पार्टीमा लोकतान्त्रिक पद्दति अवलम्बन गर्नुको साटो गुटलाई प्रश्रय दिन थाल्नु भएको छ । यसले माओवादी केन्द्र भित्र शक्तिका केन्द्रै केन्द्र जन्मिएका छन् ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement