काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विद्यार्थी संगठनको नेतृत्वका लागि ३२ वर्षको उमेर हदलाई निर्वाचन गरेरै कार्यान्वयनमा ल्याएको छ । लामो रस्साकस्सी, विमति र छलफलपछि अखिल क्रान्तिकारी उमेर हद लागू गर्न सफल भएको हो । तर क्रान्तिकारीको नेतृत्व चयनमा भने चरम गुटगत राजनीति देखिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चाहनुहुन्थ्यो- नेतृत्व छनोटका लागि पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन नहोस् । तर, नेतृत्वमा आकांक्षी बढी हुँदा र टीके प्रथा तोड्ने भन्दै विद्यार्थी नेताहरूले अध्यक्षको निर्देशन मानेनन् । उनीहरूकै बलले अन्ततः अखिल क्रान्तिकारीको निर्वाचन भयो । तर, चुनाव पूर्णतः गुटगत प्रतिस्पर्धामा परिणत हुँदा माओवादी केन्द्रका नेताहरूको लागि अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रतिष्ठाको लडाइँ बनेको छ ।
क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट गत असोजमा नै संगठनको नयाँ नेतृत्व चुनिसक्नुपर्ने थियो । तर, उमेर हद विवाद र नेतृत्वमा आफूनिकट विद्यार्थी नेतालाई ल्याउने पार्टी हेडक्वार्टरको चाहनाले असोजमा निर्वाचन हुन सकेन । उमेर हद विवाद टुंगो लगाउन भएको निर्वाचनमा ३२ वर्ष उमेर हद कायम गर्ने पक्षमा बहुमत आएपछि अहिले त्यही आधारमा अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्न लागेको छ ।
असोजमा पनि पार्टी शीर्ष नेताहरूले आफ्ना विश्वास पात्रलाई नेतृत्वमा ल्याउन हर सम्भव कोसिस गरे । अन्ततः ती नेताहरू उमेर हदले बिदा भए पनि जारी निर्वाचन प्रक्रियामा शीर्ष नेताहरूको आ-आफ्ना उम्मेदवार निर्वाचनमा होमिँदा पुन: गुटगत प्रतिस्पर्धा भएको छ । माओवादी केन्द्रमा आफ्नो पकड बनाउन दोस्रो वरीयताका नेताहरू मात्रै नभएर स्वयं पार्टी अध्यक्ष पुष्पकमल दाहाल अखिल क्रान्तिकारीको एउटा गुटको नेतृत्व गरिरहनु भएको छ । उहाँकै जोडबलमा विजय सापकोटा अध्यक्षको प्रत्यासी बनेको धेरैको बुझाइ छ । “यसरी गुट बनाएर निर्वाचनमा होमिँदा विद्यार्थीको मुद्दा छायामा पर्छ । पार्टीको छाया बन्छ संगठन”, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले बताउनुभयो ।
पुष्पकमल दाहालले असीमित शक्ति आर्जन गर्न खोज्दा गुटगत प्रतिस्पर्धा हुन पुगेको विद्यार्थी नेताहरूको बुझाइ छ । कतिपयले भने सहमतिको कोसिस भए पनि पार्टी हेडक्वार्टरले नै हुन नदिएको आरोप पनि लगाउने गरेका छन् । जसका कारण नयाँ गुटको पनि जन्म हुन पुगेको उनीहरूको जिकिर छ । पार्टीमा भित्रभित्रै पकड बनाइरहेका तर, बाहिर नदेखिएका शक्तिबहादुर बस्नेतले यही चुनावबाट आफूलाई नयाँ गुट सहित उभ्याउनु भएको छ । बस्नेतले विजय सापकोटा आफ्नो उम्मेदवार बनाएपछि पार्टीमा नयाँ गुटको जन्म भएको हो । बस्नेत अध्यक्ष दाहाल टिमको लिड गर्ने दोस्रो वरीयताको नेता हुन् ।
अखिल क्रान्तिकारीको विधान अनुसार १ अध्यक्ष, खुलातर्फ ४ र समावेशीतर्फ ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुनेछन् ।