तेह्रथुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशभक्तिको भावना कम हुँदै गएको भन्ने महसुस हुन थालेको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष दाहालले देशभक्तिको भावना कमी, माटोप्रतिको प्रेम कमजोर आदि हुनाले विदेश जाने प्रवृत्ति बढ्दै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मलाई कताकता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि ? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो कि ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहन्छु । हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया, हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैं धनी, आफैं आत्मनिर्भर बन्ने बाटोतर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।”
अध्यक्ष दाहालले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको पनि बताउनुभयो । “विदेशमा पनि टुंगो छैन । कहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित गरिँदै छ । कति बेला हजारौं नेपालीहरू फर्केर नेपाल आउनुपर्ने हो टुंगो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरू फर्किन पर्ने हो टुंगो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं ।”