काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन सुरू भएकै दिन माघ १८ गते प्रधानमन्त्री सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतक तथा सचेतकसँग आज गरेको परामर्शमा संसद् सचिवालयले तयार पारेको संसद्को हिउँदे अधिवेशनका लागि क्यालेन्डर पेश गरिएको हो ।
माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको सचिवालयले जनाएको छ । पहिलो दिन सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । त्यसपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका अध्यादेश सदनमा पेश हुनेछन् ।
२२ गते बस्ने दोस्रो बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि माघ २३,२४, २८, २९ र ३० संसद् बैठक बस्ने तय भएको छ ।