कंगोको विद्रोही समूहद्वारा गोमा शहर कब्जा

माघ १४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
कंगोको विद्रोही समूहद्वारा गोमा शहर कब्जा

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको विद्रोही समूह ‘एम ट्वेन्टी थ्री’ले देशको पूर्वभागमा पर्ने एक महत्त्वपूर्ण शहर गोमा आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडिओहरूमा विद्रोही लडाकुहरू गोमा शहरमा गस्ती गरिरहेको देखिएको बीबीसीले उल्लेख गरेको छ । 

घण्टौं लामो गोली हानाहान र विस्फोटपछि गोमाका सडकहरू अहिले शान्त रहेको स्थानीय समाचारमाध्यमले जनाएका छन् । कंगोका विदेशमन्त्रीले छिमेकी देश रुवान्डामाथि विद्रोही एम ट्वेन्टी थ्रीको समर्थनमा सीमापारि आफ्ना सेना पठाएको आरोप लगाएको केही घण्टापछि नै विद्रोहीले गोमा शहर कब्जामा लिएका हुन् । रुवान्डाले पनि कंगोमाथि आफनो देशको सत्ता परिवर्तन गर्न चाहने विद्रोहीलाई कंगोले समर्थन गरिरहेको प्रत्यारोप लगाएको छ । 

यसैबीच केन्याले युद्धविरामको आह्वान गर्नुका साथै दुवै देशका राष्ट्रपतिहरू आगामी दुई दिनपछि हुने आपत्‌कालीन क्षेत्रीय सम्मेलनमा सहभागी हुने जनाएको छ । विद्रोही समूहले सन् २०२१ देखि नै खनिज पदार्थले धनी मानिएको कंगोको पूर्वी क्षेत्रका ठूलो भूभाग आफनो नियन्त्रणमा लिएको थियो । रुवान्डाका आलोचकहरूले उसले सुन, कोबाल्ट र टेन्टालम जस्ता खनिज लुट्नका लागि विद्रोही समूहलाई प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

पछिल्ला केही सातामा विद्रोही समूह गोमा शहरतर्फ द्रुत गतिमा अघि बढेको थियो । यस वर्षको प्रारम्भ यता मात्रै रुवान्डाको सीमा नजिकै पर्ने नर्थ र साउथ किभु प्रान्तबाट चार लाखभन्दा बढी मानिस विस्थापित भएको राष्ट्रसंघीय शरणार्थी निकायले जनाएको छ । हिजो मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रुवान्डालाई कंगोको भूमिबाट आफ्ना सेना फिर्ता लैजान र विद्रोहीलाई अघि नबढ्न आग्रह गर्नुभएको थियो । 

राष्ट्रसंघीय शान्ति मिशन मोनुस्को अन्तर्गत कंगोमा खटिएका १३ जना शान्ति सैनिक विद्रोहीसँगको भिडन्तमा मारिएपछि महासचिव गुटेरेसले यस्तो आग्रह गर्नुभएको थियो । मोनुस्को मिशन अन्तर्गत हाल नेपाली सेनाका पनि ११ सय ५१ सैनिक कंगोमा तैनाथ रहेका छन् ।



Enter Kantipur TV HD
Advertisement