खोक्न पाएको छैन, आईसीयूमा बसेको देखाउँछन् : प्रधानमन्त्री ओली

माघ १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
खोक्न पाएको छैन, आईसीयूमा बसेको देखाउँछन् : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लागेको भए पनि आईसीयूको तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालको आईसीयूमा रहेका बेलाको तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मलाई रुघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ । तर हाच्छ्यूँ गरेको देख्यो भने आईसीयूकक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आईसीयूमा बसेको देखाउँछन् ।”

प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने पनि बताउनुभयो । नेपालमा विकासको क्रममा अगाडि बढेको र राम्रो प्रणाली नभई विकास नहुने पनि उहाँले बताउनुभयो । “देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement