सांसदसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई देउवाको निर्देशन

माघ १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसदसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरि खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका छन् । उहाँले मन्त्रीहरूले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले दुई ठूला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भीर भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खतिवडाले भन्नुभयो, “सरकारले ल्याएको अध्यादेशको सवालमा केही साथीहरूले सहमति छैन भन्ने कुराहरू गर्नुभएको छ । अध्यादेश आउनुभन्दा अगाडि सांसदहरूसँग छलफल गरिएन । यो कुरा ठीक भएन भनेर केही माननीय सदस्यहरूले कुराहरू राख्नुभयो । मन्त्रीहरूले जवाफ दिनुपर्नेछ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement