काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सोमबार सांसदहरूले उठाएका प्रश्नको नेता र मन्त्रीहरूले जवाफ दिनेछन् । आइतबार संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाही र अध्यादेश, उच्चस्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरूलाई जानकारी दिइएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भोलिको बैठकमा सांसदहरूले बोल्ने क्रम सुरू हुन्छ । त्यसपछि मन्त्री र नेताहरूले जवाफ दिनेछन् ।”
घिमिरेले आजको बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गर्नुभयो । उहाँले आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरूको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरूले जवाफ दिएर टुंगोमा पुगिने बताउनुभयो ।
उहाँले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरूलाई प्रस्ट पार्नुभएको जानकारी दिनुभयो । उहाँले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बैठकमा तीन जना विज्ञहरूले सांसदहरूलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरूको अन्तरवस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको बताउनुभयो ।
उहाँले पार्टीभित्र धेरै विषयका वादविवाद हुन सक्ने, बहस र छलफलहरू हुन सक्ने र नेतृत्वको आलोचना पनि गर्न पाइने तर पार्टीले एउटा निर्णय र निष्कर्ष निकाल्ने बताउनुभयो । “कांग्रेसको ९५ प्रतिशत निर्णयहरू सहमतिमा हुन्छ । त्यो निर्णयलाई कार्यान्वयन गर्न कांग्रेसका नेताहरूले बोकेर हिँड्नुपर्ने कर्तव्य सबैको हुन्छ”, उहाँले भन्नुभयो ।
उहाँले बैठक भोलि सकिने पनि बताउनुभयो । यस्तै आगामी संसद्मा सत्तापक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरू बनाउने बताउनुभयो ।