अमेरिकाका विभिन्न शहरमा अवैध आप्रवासी खोज्न प्रशासनको छापा, ९५६ जना गिरफ्तार

ट्रम्प सत्तामा फर्किएपछि अहिलेसम्मकै ठूलो कारबाही
माघ १४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाका विभिन्न शहरमा अवैध आप्रवासी खोज्न प्रशासनको छापा, ९५६ जना गिरफ्तार

काठमाडौं । अमेरिकी प्रशासनले आइतबार देशव्यापी रूपमा गरेको छापामारीमा कम्तीमा ९५६ जना अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ । इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई)का अनुसार डनल्ड ट्रम्प सत्तामा फर्किएयता गरिएको यो अहिलेसम्मकै ठूलो कारबाही हो ।

यसअघि शनिबार २८६, शुक्रबार ५९३ र बिहीबार ५३८ जना अवैध आप्रवासीलाई विभिन्न अपराधमा संलग्न रहेको आरोपमा गिरफतार गरिएको थियो ।

थुप्रै संघीय निकायहरूको समन्वयमा शिकागो, नेवार्क, न्यु जर्सी, कोलोराडो र मियामी लगायतका शहरमा छापा हानिएको बीबीसीले जनाएको छ । आईसीईको नेतृत्वमा भएको कारबाहीमा संघीय सुरक्षा निकाय एफबीआई, लागूऔषध नियन्त्रण निकाय, ‘ब्युरो अफ अलकोहल, टोब्याको, फायर आर्म्स एन्ड एक्स्प्लोसिभ’ र यूएस मार्शल सर्भिस संलग्न रहेको सीएनएनले जनाएको छ ।

यही जनबरी २० मा सत्ता सम्हालेयता ट्रम्पले देशको आप्रवासन प्रणालीमा आमुल सुधार गर्न भन्दै यस सम्बन्धी २१ वटा कार्यकारी आदेश जारी गरिसक्नुभएको छ ।

ट्रम्पले सीमा सुरक्षा सम्बन्धी प्रमुख अधिकारी ‘बोर्डर जार’ का रूपमा नियुक्त गर्नुभएका टम होम्यान उक्त कारबाहीको सुपरिवेक्षणका लागि स्वयं शिकागोमा उपस्थित रहेको जनाइएको छ । शिकागोका मेयर ब्रान्डन जन्सनले आईसीईले गरको कारबाहीबारे आफू जानकार रहेको तर सो कार्यमा शिकागो प्रहरी भने संलग्न नरहेको बताउनुभएको छ ।

अवैध आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने प्रमुख बाचाका साथ राष्ट्रपति पदमा निर्वाचित हुनुभएका ट्रम्पले सत्ता सम्हालेको दिनदेखि नै अवैध आप्रवासन विरुद्ध कडा दृष्टिकोण राख्दै आउनुभएको छ । ट्रम्पका पूर्ववर्ती जो बाइडनको कार्यकालमा पनि अवैध आप्रवासीलाई उनीहरूको देश फिर्ता पठाउने कार्य नभएका भने होइनन् । आईसीईका अनुसार बाइडनको शासनकालमा दैनिक औसत ३११ जना आप्रवासीलाई डिपोर्ट गर्ने गरिएको र तीमध्ये अधिकांश अपराधमा संलग्न आप्रवासी रहेको जनाइएको छ ।

जो बाइडनको चार वर्षे कार्यकालमा करिब १५ लाख अवैध आप्रवासीलाई देश फिर्ता पठाइएको माइग्रेसन पोलिसी इन्स्टिच्यूटको तथ्यांकले देखाएको बीबीसीले उल्लेख गरेको छ ।



Enter Kantipur TV HD
Advertisement